असार २४, २०७३- तिब्बतबाट आएको बाढीले आवास भवन तथा सडक कटान नरोकिएपछि सीमा क्षेत्रका बासिन्दा झन् त्रसित भएका छन् । उनीहरूले आफूहरूलाई सुरक्षित स्थानको खोजी गरिरहेका छन् । मितेरी पुलदेखि खाडीचौरसम्मको भोटेकोसी र सुनकोसी किनारका करिब ३५ किलोमिटर क्षेत्रको बस्ती जोखिममा छ ।
तिब्बती क्षेत्रमा वर्षात् भइरहेकाले त्रास यथावत् छ । त्रासका कारण तातोपानीका २ सय परिवार स्थानीय चौकीडाँडमा बसेका छन् । सीमाका चिनियाँ सुरक्षाकर्मीसमेत गेटमा ताला लगाएर खासा गएका छन् । उनीहरूले जानुअघि ‘हामी हिँड्यौं, तपाईंहरू पनि सुरक्षित रहनुस् भन्दै गएका थिए ।’ अरनिको राजमार्गको जुरे–तातोपानी खण्ड २६ किमि सडक अवरुद्ध छ ।
सीमास्थित सशस्त्र प्रहरी बलका नायब उपरीक्षक मनोज थापाका अनुसार बिहीबार मध्याहन तातोपानी र लिपिङका थप घरहरूलाई भोटेकोसीले कटान गरेको छ । कटान नरोकिएपछि तातोपानी बजारवासी सुरक्षित स्थानको खोजीमा लागेका छन् । लिपिङबाट विस्थापितहरू स्थानीय कोदारीस्थित चौकी डाँडामा बसेका छन् । भूकम्पपछि लगभग सुनसान रहेको मितेरी पुल नजिकैको सडक छेउका सबैजसो घरहरू मंगलबार रातिको बाढीले भोटेकोसीमा खसालेको थियो । अहिले लिपिङ बजार, भन्सार, अध्यागमन तथा मितेरी पुल आसपासको क्षेत्र मानव बस्तीविहीन भएको छ ।
प्रनाउ थापाका अनुसार स्थानीय सुरक्षित स्थानको खोजीमा छन् । कतिपय स्थानीय बाढी आउने भयले घरका सामान लिएर अन्यत्र जान थालेका छन् । उनीहरूले तातोपानी क्षेत्रमा जोखिममा परेका घरहरूको सुरक्षा गर्न माग गरेका छन् । भोटेकोसी आयोजनाको बाँधका कारण ढुंगा, माटो थुप्रिएर तातोपानी बजार डुबानमा पर्ने खतरा भएको गुनासो पीडितहरूको छ ।
बजार नजिकै रहेको उक्त बाँधको उत्तरतर्फ बाढीले खोर नयाँ स्थानमा भोटेकोसी बगेकाले थप क्षतिको खतरा त्यतिकै छ, स्थानीय विष्णुबहादुर श्रेष्ठले भने, ‘बाँधबाट छिटोभन्दा छिटो पानीलाई निकास दिएर बजार सुरक्षा गर्नुपर्यो,’ उनले भने । उनका अनुसार ऐतिहासिक र धार्मिक महत्त्व रहेको तातोपानी धाराको तल्लो भाग लगातार कटान गरिरहेको छ । तातोपानी क्षेत्रका करिब सयभन्दा बढी परिवार सुरक्षा खोज्दै अन्यत्र गएका छन् । बाँधका कारण पानीले सहज रूपमा निकास पाउन नसक्दा बढी खतरा देखियो, उनले भने । भूकम्पपछि रित्तिएको तातोपानी क्षेत्रमा पछिल्लो समय विस्थापितहरू घर फर्किरहेका थिए । बाढीले उनीहरू थप त्रसित भएर फेरि घर छाड्न बाध्य भएका हुन् यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिले राजधानी जान चाहने तातोपानी सीमाका बासिन्दालाई सरकारले नै व्यवस्थापन मिलाउने निर्णय गरेको छ ।
बाढीले मितेरी पुलबाट करिब २६ किमि पश्चिम अरनिको राजमार्गको बाह्रबिसेको खोर्सानीबारी क्षेत्रमा भोटेकोसीले लगातार कटान गरिरहेको छ । अघिल्लो दिनको बाढीले सोही स्थानमा रहेको मोटर मर्मत सेन्टर (वर्कसप) बगाएको थियो । प्रहरीका अनुसार सबैभन्दा बढी लिपिङबाट तटीय क्षेत्र जुरेसम्मको ३० किमि भागलाई बढी खतरा देखिएको छ । करिब २६ किमि सीमासम्म भने तत्काल यातायात सञ्चालन हुने अवस्था छैन । सडक डिभिजन चरिकोटका प्रमुख अशोक तिवारीका अनुसार बाह्रबिसे–तातोपानी खण्ड सडक सुचारु गर्न दुई साता लाग्नेछ ।
पहाडले खोला थुनिँदा बाढी
खासा र कुतीको बीचमा रहेको छेपसाङ भन्ने स्थानको खोलालाई पहाडले थुनेपछि त्यसले बाढीको रूप लिएको थियो । नेलाम जिल्लाका सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै स्थानीयले दिएको जानकारीअनुसार ठूलो पहाड झरेर खोला थुनिएको थियो । करिब १ घण्टा थुनिएर खुलेपछि त्यसले ठूला चट्टान र रूखहरू बगाउन सुरु गरेको थियो । लगातारको वर्षात्पछि पहाड झरेको थियो ।
खासा र कुतीको बीचमा रहेको छेपसाङ भन्ने स्थानको खोलालाई पहाडले थुनेपछि त्यसले बाढीको रूप लिएको थियो । नेलाम जिल्लाका सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै स्थानीयले दिएको जानकारीअनुसार ठूलो पहाड झरेर खोला थुनिएको थियो । करिब १ घण्टा थुनिएर खुलेपछि त्यसले ठूला चट्टान र रूखहरू बगाउन सुरु गरेको थियो । लगातारको वर्षात्पछि पहाड झरेको थियो ।
source:ekantipur.com
Post a Comment