असार २१, २०७३- पछिल्लो समय नेपालमा किताबको बजार बढेको हो कि होइन भन्ने चर्चा निकै चलेको छ । एकथरी बजार साँच्चिकै बढेको हो भनिरहेका छन् भने एकथरी आलोचकहरुले सिमित किताबको मात्रै बिक्री भएको दलील दिँदै यसलाई फेसन भनेका छन् ।
किताबको बजारमा यस्तो दुविधा देखिए पनि फिल्मको सवालमा भने स्पष्ट भन्न सकिन्छ– नेपालमा फिल्मको बजार बढेको छ । भूकम्पपछि रिलिज भएका नेपाली फिल्मको पाएको सफलता यसको एउटा आधार हो भने नेपाली बजारमा हिन्दी फिल्महरुले गरिरहेको कमाई अर्को आधार ।
नेपालमा आफ्नै फिल्म बन्नुभन्दा पहिले अरुको फिल्म प्रदर्शन गरेर फिल्म व्यवसाय शुरु भएको हो । यसैले नेपाली फिल्मको इतिहासभन्दा नेपालमा हिन्दी फिल्म प्रदर्शनको इतिहास लामो छ । सायद, यसैले होला अहिले पनि नेपाली फिल्म बजारका सबभन्दा ठूलो खेलाडी हिन्दी फिल्म नै छ ।
केहीअघि आएको आमिर खानको फिल्म ‘धुम ३’ले नेपालमा मात्रै करिब ६ करोडको व्यापार गरेको थियो (यसलाई गोपीकृष्णले १ करोड २५ लाखमा ल्याएको थियो) । त्यतिबेलाको अनुमान अनुसार त्यो नै नेपालमा सबभन्दा ठूलो कारोबार गर्ने फिल्म थियो । तर, त्यसपछि केही नेपाली फिल्मले पनि ग्रस कलेक्सनमा यसलाई उछिनेको अनुमान गरिन्छ । यसमा श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको ‘कोहिनुर’ र प्रशान्त तामाङले अभिनय गरेको ‘परदेशी’को नाम लिइन्छ । यस्ता एक दुई फिल्म छोडेर समग्रमा हेर्ने हो भने चाहिँ सबभन्दा धेरै कारोबार गर्ने राजधानी लगायतका मुख्य हलमा हिन्दी फिल्मकै बोलबाला देखिन्छ ।
यसको उदाहरण हो, यो साता प्रदर्शनमा आउन लागेको हिन्दी फिल्म ‘सुल्तान’ । सलमान खानले अभिनय गरेको यो फिल्म इस्लाम धर्माबलम्बीको पवित्र चाड इद उल फित्रको बिदालाई लक्षित गरि बुधबारदेखि नै रिलिज गरिंदैछ । पछिल्ला वर्षहरुमा बलिउडको बजार इदमा सलमानकै फिल्मले कब्जा जमाउने गरेका छन् । करिब ६ महिनापहिले काठमाडौं आएका भारतीय फिल्म समीक्षक प्रमेन्द्र मजुमदारले त्यतिबेलै भनेका थिए– ‘सलमानको फिल्मको अहिले कथा पनि टुंगो पनि लागेको छैन तर हल भने बुक भइसकेका छन् ।’
राजधानीको प्रमुख फिल्म प्रदर्शक क्युएफएक्सले ‘सुल्तान’लाई दिएको सो हेर्दा उनको भनाई नेपालमा पनि सत्य सावित हुन्छ । क्युएफएक्सले आफ्ना चार वटा हलमा बुधबार सुल्तानका लागि २७, बिहीबार २९ र शुक्रबार २८ वटा सो दिएको छ । यस्तो लाग्छ, ‘सुल्तान’ फिल्मी बजारमा आएको सुनामी हो, जसका अगाडि अरु फिल्मको कुनै अस्तित्व छैन । हाम्रो चिन्ता चाहिँ के हो भने कतै यो सुनामीमा नेपाली फिल्म बगिरहेका त छैनन् ?
Source:ekantipur.com
Post a Comment